कालिमाई मन्दिर क्षेत्रका खाल्डाखुल्डी टालटुल, स्थानीयलाई सहजता
सिन्धुली,१६-हिजो
सिन्धुली — कमलामाई नगरपालिका वडा नं. ५ अन्तर्गत कालिमाई मन्दिर आसपासको सडकमा रहेका खाल्डाखुल्डी टालटुल गर्ने कार्य सम्पन्न भएको छ। लामो समयदेखि जीर्ण अवस्थामा रहेको सडकका कारण स्थानीय बासिन्दा तथा दर्शनार्थीहरूले आवतजावतमा समस्या भोग्दै आएका थिए।
सिन्धुली युवा क्लबको पहलमा सडकका खाल्डाखुल्डी पुर्ने, सतह सम्याउने तथा ग्राभेल बिछ्याउने काम गरिएको हो। सडकमा खाल्डाखुल्डी भएकोले आवात जावातमा निकै कठिन हुने र दुर्घटना निम्तिन सक्ने जोखिमलाई ध्यानमा राख्दै मर्मत सेवा गरेका हुन । गाउँका युवा युवतीहरुको क्लवको यस्तो कार्य प्रति स्थानीयद्घरा धेरै प्रशंसा गरेको पाइद्दछ ।
क्लबका अध्यक्ष पवन रोक्काले स्थानीयको समस्यालाई मध्यनजर गर्दै युवाहरू स्वयंसेवी रूपमा परिचालन गरिएको जानकारी दिए। “यो सडक धेरै समयदेखि बिग्रिएको थियो। तत्काल राहत दिनका लागि हामी आफैं जुटेका हौं,” उनले भने, “दीर्घकालीन समाधानका लागि सम्बन्धित निकायले ध्यान दिन आवश्यक छ।”
मर्मत कार्यका क्रममा ‘सडक मर्मत कार्य चल्दैछ, सावधान रहनुहोस्’ भन्ने सूचना राखी वैकल्पिक बाटो प्रयोग गर्न आग्रह गरिएको थियो, जसले दुर्घटना न्यूनीकरणमा सहयोग पुगेको जनाइएको छ।
स्थानीयवासीहरूले युवा क्लबको पहलको प्रशंसा गर्दै यस्ता सामाजिक कार्यले समुदायमा सहकार्य र जिम्मेवारीबोध बढाउने बताएका छन्। साथै, मन्दिर जस्तो धार्मिक तथा पर्यटकीय क्षेत्रमा पूर्वाधार सुधारले आगन्तुकको अनुभवसमेत सहज बनाउने विश्वास व्यक्त गरिएको छ।
What's Your Reaction?