रामेछापमा निर्वाचन सामग्री बोकेको ट्रक भीरबाट खस्यो, दुई जनाको ज्यान गयो
रामेछाप‚१८
रामेछापमा निर्वाचन सामग्री तथा कर्मचारी लिएर गइरहेको ट्रक दुर्घटनामा परी ज्यान गुमाउनेको संख्या दुई पुगेको छ।
घाइते अवस्थामा सदरमुकाम मन्थलीस्थित मन्थली अस्पताल ल्याइएका थप एक जनाको उपचारका क्रममा मृत्यु भएको अस्पतालका प्रमुख डा. केशव धामीले जानकारी दिनुभयो। उपचारकै क्रममा ज्यान गुमाउने व्यक्ति डोरप्रसाद घिमिरे रहेको बताइएको छ।
घिमिरे रामेछाप नगरपालिका–२ साँघुटारस्थित वडा कार्यालय भवन ‘ख’ मतदान केन्द्रका मतदान अधिकृत हुनुहुन्थ्यो। उहाँ मन्थली नगरपालिका–७ स्थित रुद्राक्षेश्वर माध्यमिक विद्यालयका शिक्षकसमेत रहेको जनाइएको छ।
सोमबार अपराह्न निर्वाचन सामग्री तथा कर्मचारी लिएर गइरहेको निशान ट्रक रामेछाप नगरपालिका–२ स्थित वडा कार्यालय नजिकैको सिरूवारी भीरबाट खसेको थियो। दुर्घटनामा परेका मध्ये तीन जना गाडीबाट हाम फालेर ज्यान जोगाउन सफल भएका छन्।
यसअघि दुर्घटनास्थलमै नेपाल प्रहरीका असई आरपी यादवको मृत्यु भएको थियो। रामेछाप नगरपालिका–२ स्थित शीतलादेवी माध्यमिक विद्यालय मतदान केन्द्रका मतदान अधिकृत रवीराज खड्काका अनुसार उहाँसहित तीन जना गाडीबाट हाम फालेर बाँच्न सफल भएका हुन्।
दुर्घटनामा घाइते भएका दुई पुरुष र तीन महिलालाई थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक राजनप्रसाद तिम्सिनाले जानकारी दिनुभयो।
What's Your Reaction?