जन्ती बोकेको बोलेरो सिन्धुलीको दुधौलीमा दुर्घटना

जन्ती बोकेको बोलेरो सिन्धुलीको दुधौलीमा दुर्घटना

सिन्धुलीको दुधौली नगरपालिकामा आज बिहान जन्ती बोकेको बुलेरो दुर्घटना हुँदा पाँच जना घाइते भएका छन्। बेहुलासहित जन्ती लिएर उदयपुरतर्फ जाँदै गरेको बुलेरो घुम्ती सडकमा अनियन्त्रित भई दुर्घटना छ।
दुर्घटना दुधौली नगरपालिका–१ राँगेस्थित सडक खण्डमा भएको हो। फिक्कल गाउँपालिका–१ महादेवडाँडा जलजलेबाट उदयपुरको घाइघाट–रातमाटेतर्फ बेहुला लिएर जाँदै गरेको डबलक्याप बुलेरो अचानक नियन्त्रण गुमाउँदा सडकबाट तल खसेको बताइएको हो।
गाडीमा बेहुला हेमबहादुर विकसहित १० जना सवार रहेका थिए। दुर्घटनामा बेहुला भने सकुशल रहेका छन्। विवाह समारोहका लागि हिँडेको जन्ती टोली दुर्घटनामा परेपछि केही समय स्थानीय क्षेत्रमा अस्तव्यस्ताको अवस्था सिर्जना भएको थियो।
दुर्घटनामा योगबहादुर खत्री गम्भीर घाइते भएका छन्। प्रारम्भिक उपचारपछि उनलाई थप उपचारका लागि सिन्धुली अस्पताल पठाइएको जनाइएको छ। अन्य घाइते लालबहादुर विक, साने विक, श्याम विकलगायत चार जनाको दुधौली नगरपालिकाकै सिर्थौली अस्पतालमा उपचार भइरहेको छ।
स्थानीयवासीका अनुसार उक्त सडक साँघुरो तथा धेरै घुम्ती भएकाले बिहान र वर्षायाममा सवारी सञ्चालन जोखिमपूर्ण हुने गरेको छ। दुर्घटनापछि स्थानीयवासी र सुरक्षाकर्मीको सहयोगमा घाइतेहरूको उद्धार गरी अस्पताल पठाइएको थियो।
प्रहरीले घटनास्थलको निरीक्षण गरी दुर्घटनाको कारणबारे अनुसन्धान सुरु गरेको जनाएको छ। प्रारम्भिक अनुमानमा तीव्र गति वा जटिल मोडका कारण सवारी अनियन्त्रित भएको हुन सक्ने प्रहरीको भनाइ छ।
ग्रामीण क्षेत्रमा सडक सुरक्षाको चुनौती अझै रहेको अवस्थामा यस्ता दुर्घटनाले यात्रु सुरक्षाप्रति थप सतर्कता अपनाउनुपर्ने आवश्यकता देखिएको स्थानीयवासीले बताएका छन्।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow