मरिण गाउँपालिकाद्वारा सहिद सम्मान तथा प्रोत्साहन कार्यक्रम सम्पन्न
सिन्धुली,१ फागुन-
मरिण गाउँपालिकाले सहिद परिवार सम्मान, सामाजिक सुरक्षा तथा शैक्षिक प्रोत्साहनसम्बन्धी विविध कार्यक्रम सम्पन्न गरेको छ। गाउँपालिका अध्यक्ष विर्मश मुक्तानको अध्यक्षतामा आयोजित कार्यक्रममा गाउँपालिका उपाध्यक्ष विमला माझी, प्रमुख प्रशासकीय अधिकृत, गाउँ कार्यपालिका सदस्य, वडाध्यक्ष, सहिद परिवार तथा स्थानीय जनसमुदायको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रममा गाउँपालिकाभित्रका ५३ जना सहिद परिवारलाई खादा लगाएर सम्मान गर्नुका साथै निर्वाह सहयोगस्वरूप जनही रु २० हजारका दरले नगद वितरण गरिएको गाउँपालिकाले जनाएको छ। सहिद परिवारको सम्मान र सामाजिक सुरक्षालाई प्राथमिकतामा राख्दै उक्त सहयोग प्रदान गरिएको अध्यक्ष मुक्तानले बताउनुभयो।
आमा–बुवा विहीन बालबालिका संरक्षण कार्यक्रमअन्तर्गत ४ जना बालबालिकालाई जनही रु २४ हजारका दरले सहयोग प्रदान गरिएको छ भने द्वन्द्वपीडित बालबालिकालाई छात्रवृत्ति वितरण गरिएको छ। त्यसैगरी स्नातक उत्तीर्ण गरेका ५ जना किशोरीलाई जनही रु १ लाखका दरले प्रोत्साहन रकम प्रदान गरिएको गाउँपालिकाले जनाएको छ।
वि.सं. २०८१ को एस.ई.ई. परीक्षामा उत्कृष्ट नतिजा ल्याउने छात्रा दिया पुरी र छात्र स्वरुप स्याङ्तानलाई जनही रु ५० हजार नगदसहित सम्मान गरिएको छ। साथै उत्कृष्ट नतिजा ल्याउने विद्यालयतर्फ प्रथम हुने मावि सिन्धुरे राटमाटलाई रु ३ लाख, द्वितीय हुने कुशेश्वर मावि नक्कलीलाई रु २ लाख र तृतीय हुने कपिलाकोट छापलाई रु १ लाखसहित प्रशंसापत्र प्रदान गरिएको छ।
एसईई उत्तीर्ण गरी गाउँपालिकाभित्रका विद्यालयमा कक्षा ११ मा अध्ययनरत १४ जना छात्रालाई साइकल वितरण गरिएको छ। विद्यार्थीको अध्ययनलाई सहज बनाउन र शैक्षिक पहुँच विस्तार गर्ने उद्देश्यले साइकल वितरण गरिएको गाउँपालिकाले जनाएको छ।
कार्यक्रममा बोल्दै अध्यक्ष विर्मश मुक्तानले सहिदहरूको बलिदानको स्मरण गर्दै उनीहरूको परिवारप्रति गाउँपालिका सधैं उत्तरदायी रहने बताउनुभयो। उहाँले भन्नुभयो, “सहिदहरूको त्याग र बलिदानकै कारण आज हामी लोकतान्त्रिक अभ्यासमा उभिएका छौँ। उनीहरूको परिवारको सम्मान र सहयोग गर्नु हाम्रो कर्तव्य हो।”
उपाध्यक्ष विमला माझीले महिला, बालबालिका र शिक्षाको क्षेत्रमा लक्षित कार्यक्रमलाई प्राथमिकतामा राखिएको उल्लेख गर्दै समावेशी र न्यायपूर्ण समाज निर्माणमा गाउँपालिका प्रतिबद्ध रहेको बताउनुभयो।
कार्यक्रममा सहिद परिवार, अभिभावक, विद्यार्थी तथा स्थानीयवासीको उत्साहजनक सहभागिता रहेको थियो। गाउँपालिकाले सहिद परिवारको सम्मान, शिक्षा प्रवर्द्धन र सामाजिक सुरक्षालाई संस्थागत गर्दै यस्ता कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।
What's Your Reaction?