नजज्योति बहिरा माविमा नि:शुल्क स्वास्थ्य शिविर, १४९ विद्यार्थीको स्वास्थ्य परीक्ष
सिन्धुली, माघ २९ –
सिन्धुली, २९ माघ । कमलामाई नगरपालिकाको समन्वय, सिन्धुली अस्पतालको प्राविधिक सहयोग तथा जनस्वास्थ्य कार्यालय सिन्धुलीको आयोजनामा श्री नजज्योति बहिरा माध्यमिक विद्यालय, जसेदमार (कनपा–६) मा एक दिने नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ।
विद्यालय स्तरमै आयोजना गरिएको उक्त शिविरबाट १४९ जना बहिरा बालबालिकाले प्रत्यक्ष लाभ लिएको जनस्वास्थ्य कार्यालयले जनाएको छ। शिविरको स्वास्थ्य परिक्षणका क्रममा ६ जना विद्यार्थीमा मुटुसम्बन्धी समस्या देखिएको छ भने ३ जनामा आँखासम्बन्धी समस्या पहिचान गरिएको छ। साथै ४ जना विद्यार्थीलाई आवश्यकताअनुसार चस्मा वितरण गरिएको आयोजकले जानकारी दिएका छन्।
शिविरमा बालबालिकाहरूको श्रवण तथा दृष्टि (चस्मा सहित) परीक्षण, आवश्यक परेकालाई चस्मा वितरण, दाँत परीक्षण, रक्त समूह पहिचान तथा सामान्य रोगहरूको उपचार सेवा प्रदान गरिएको थियो। साथै बाथरोग तथा मुटुरोग (आरएचडी) सम्बन्धी स्क्रिनिङ सेवा पनि सञ्चालन गरिएको आयोजकले जानकारी दिएको छ। यस कार्यक्रमको महत्व दर्शाउदै जनस्वास्थ्य कार्यालय सिन्धुलीका पुष्परा पन्त भन्नुहुन्छ- बालबालिकाको स्वास्थ्य परिक्षण गरेर रोग देखिएमा बेलैमा उपचार गरियो भने स्वास्थ्यमा धेरै समास्या हुँदैन, बालबालिकाहरु दिर्घ रोगी हुनबाट जोगाउन सकिन्छ । बालबालिकाको परिक्षण गरेर रोग वा विमारीको पहिचान गरी उसलाई काहाँ कसरी उपचार हुन्छ त्यही अनुसार गरिन्छ । जिल्ला अस्पतालमा हुन्छ की बाहिर रिफर गर्नु पर्छ की हामी त्यही अनुसार गरिदिन्छौं ।
बाल विशेषज्ञ डा. शैलेश श्रेष्ठ, स्वास्थ्य शिविर सञ्चालन प्रमुख बिमल पटेल तथा क्याम्पका फोकल पर्सन जनस्वास्थ्य कार्यालय सिन्धुलीका पुष्पराज पन्तको समन्वयमा बिन्देश यादवसहित सिन्धुली अस्पतालको स्वास्थ्यकर्मी टोलीले शिविर सञ्चालनमा सहजीकरण गरेको थियो। कार्यक्रम सम्पन्न भएको जानकारी पन्तले दिएका छन्।
प्रारम्भिक परीक्षणका क्रममा केही विद्यार्थीमा दृष्टि समस्या, दाँतसम्बन्धी समस्या तथा सामान्य बाथसम्बन्धी लक्षण देखिएकाले थप उपचारका लागि सिफारिस गरिएको बताइएको छ। स्वास्थ्यकर्मीहरूको टोलीले विद्यार्थीहरूको स्वास्थ्य परीक्षणसँगै अभिभावक तथा शिक्षकहरूलाई स्वास्थ्य सचेतनासम्बन्धी परामर्शसमेत दिएको थियो।
विद्यालय प्रशासनले यस्ता कार्यक्रमबाट विद्यार्थीहरूको स्वास्थ्य सुधारमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्दै आगामी दिनमा पनि सहकार्यलाई निरन्तरता दिन आग्रह गरेको छ। स्थानीय तह र स्वास्थ्य संस्थाबीचको समन्वयमा सञ्चालन भएको शिविरले विशेष विद्यालयका विद्यार्थीहरूको स्वास्थ्य सुरक्षामा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।
What's Your Reaction?