नारी दिवसको अवसरमा सिन्धुलीमा महिला उद्यमीहरूको प्रदर्शनी

नारी दिवसको अवसरमा सिन्धुलीमा महिला उद्यमीहरूको प्रदर्शनी

सिन्धुली २७

 सिन्धुलीमा अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा महिला उद्यमीहरूले आफ्ना उत्पादन तथा सीप प्रदर्शन गर्ने प्रदर्शनी कार्यक्रम आयोजना गरिएको छ।  फागुन २१ मा भएको निर्वाचनका कारण निर्धारित मितिमा हुन नसकेको उक्त कार्यक्रम हिजो बुधबार औपचारिक रूपमा उद्घाटन गरिएको हो। । प्रदर्शनी कार्यक्रम दुई दिन रहने छ ।

सिन्धुली सौगात सहकारीको आयोजनामा कमलामाई नगरपालिकामा गरिएको  कार्यक्रममा जिल्ला प्रमुख स्किम श्रेष्ठ प्रमुख अतिथि हुनुभएको थियो। कार्यक्रममा कमलामाई नगरपालिका र विभिन्न संघ–संस्थाका प्रतिनिधि, स्थानीय सरोकारवाला तथा महिला उद्यमीहरूको सहभागिता रहेको थियो।

प्रदर्शनीमा स्थानीय महिला उद्यमीहरूले आफूले उत्पादन गरेका विभिन्न घरेलु तथा हस्तकलाका सामग्रीहरू प्रदर्शन गरेका थिए। मिक्स अचार,  मासुको अचार,  खोर्सानीको अचार, घरेलु खाद्य सामग्री, हस्तकला तथा अन्य स्थानीय उत्पादनहरू प्रदर्शनीमा राखिएको थियो। कार्यक्रममा सहभागी महिला उद्यमीहरूले आफ्ना उत्पादनको प्रचार–प्रसार गर्नुका साथै बजार विस्तार गर्ने अवसर पनि पाएका छन्।

आयोजकका अनुसार यस प्रकारका कार्यक्रमले महिला उद्यमशीलतालाई प्रवर्द्धन गर्नुका साथै महिलालाई आर्थिक रूपमा सशक्त बनाउन महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ। प्रदर्शनीमार्फत महिलाहरूले आफ्नो ज्ञान, सीप र क्षमता प्रस्तुत गर्ने अवसर पाएका छन्।

कार्यक्रमका प्रमुख अतिथि स्किम श्रेष्ठले महिलाको आर्थिक सशक्तीकरण बिना समाजको समग्र विकास सम्भव नहुने बताउनुभयो। उहाँले महिलालाई उद्यमशीलतामा प्रोत्साहन गर्न यस्ता कार्यक्रमहरू महत्वपूर्ण हुने उल्लेख गर्दै स्थानीय उत्पादनको प्रवर्द्धन र बजारीकरणमा सबैको सहकार्य आवश्यक रहेको धारणा राख्नुभयो।

अन्तर्राष्ट्रिय नारी दिवस विश्वभर महिलाको अधिकार, समानता र सम्मानका लागि सचेतना फैलाउने दिनका रूपमा मनाइन्छ। यस दिन महिलाले समाज, परिवार र राष्ट्र निर्माणमा पु¥याएको योगदानको स्मरण गरिनुका साथै उनीहरूका अधिकार र अवसरका विषयमा छलफल गरिन्छ।

पछिल्ला वर्षहरूमा महिलाहरू शिक्षा, राजनीति, प्रशासन, व्यवसाय तथा विभिन्न पेशागत क्षेत्रमा सक्रिय रूपमा अघि बढिरहेका छन्। यद्यपि अझै पनि धेरै क्षेत्रमा महिलाले विभिन्न चुनौती र असमानतासँग सामना गर्नुपरेको अवस्था रहेको छ। त्यसैले महिलालाई समान अवसर, सम्मान र सुरक्षा प्रदान गर्नु समाजको साझा दायित्व हो।

सिन्धुलीमा आयोजना गरिएको यो प्रदर्शनीले महिला उद्यमीहरूको क्षमता उजागर गर्नुका साथै उनीहरूलाई आत्मनिर्भर बन्न प्रेरणा दिने अपेक्षा गरिएको छ। आयोजकका अनुसार आगामी दिनमा पनि यस्ता कार्यक्रमहरू निरन्तर रूपमा सञ्चालन गरिने योजना रहेको छ।

 

मरिण गाउँपालिका कार्यालय ‚कपिलाकोट सिन्धुली

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow