राष्ट्रिय भूतपूर्व सैनिक संघ सिन्धुलीको सातौँ जिल्ला अधिवेशन सम्पन्न, टंक कार्की निर्वाचित

राष्ट्रिय भूतपूर्व सैनिक संघ सिन्धुलीको सातौँ जिल्ला अधिवेशन सम्पन्न, टंक कार्की निर्वाचित

सिन्धुली, जेठ २४ -

 राष्ट्रिय भूतपूर्व सैनिक संघ सिन्धुलीको सातौँ जिल्ला अधिवेशन शनिबार कमलामाई नगरपालिका–६ शिखरटोलस्थित संघको आफ्नै भवनमा भव्य रूपमा सम्पन्न भएको छ।

संघका सभापति श्री भक्तबहादुर राउटको अध्यक्षतामा आयोजित अधिवेशनमा केन्द्रीय सदस्य तथा बागमती प्रदेश संयोजक श्री राजु सिग्देल प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो। कार्यक्रममा विशेष अतिथिका रूपमा सेनानी श्री विजय खत्री, प्रदेश सैनिक अध्यक्ष श्री श्रवण थापा तथा पूर्व सभापति श्री नवराज थिङलगायतको उपस्थिति रहेको थियो। कार्यक्रमको सञ्चालन सचिव केदारप्रसाद देवकोटाले गर्नुभएको थियो।

अधिवेशनमा सचिवीय तथा विभिन्न प्रतिवेदन प्रस्तुत गरी विषयगत छलफल गरिएको थियो। संघको भावी कार्यदिशा, संगठन सुदृढीकरण तथा भूतपूर्व सैनिकहरूको हित संरक्षणका विषयमा सहभागीहरूले आ–आफ्ना धारणा राखेका थिए।

अधिवेशनअन्तर्गत सम्पन्न निर्वाचनमा कुल ३६३ मत खसेको थियो। जसमध्ये १ मत बदर भई ३६२ मत सदर भएको निर्वाचन समितिले जनाएको छ। सभापति पदका उम्मेदवार टंक कार्कीले १८६ मत प्राप्त गर्दै विजयी हुनुभएको छ भने उहाँका प्रतिस्पर्धी रामचन्द्र कार्कीले ७६ मत प्राप्त गर्नुभएको थियो। विजयी उम्मेदवार कार्कीले ११० मतको अन्तरले जीत हासिल गर्नुभएको हो।

निर्वाचन परिणाम सार्वजनिक भएपछि नवनिर्वाचित सभापति टंक कार्कीले संगठनलाई अझ सुदृढ र एकताबद्ध बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो। साथै संघको भौतिक संरचनाको संरक्षण तथा आवश्यक व्यवस्थापनलाई प्राथमिकतामा राखेर काम गर्ने बताउनुभयो।

 

कार्यक्रममा बोल्दै राष्ट्रिय भूतपूर्व सैनिक संघ सिन्धुलीका सदस्य बल बहादुर सहाशंकरले भूतपूर्व सैनिकहरूबीच आपसी एकता, अनुशासन र सहकार्यलाई अझ मजबुत बनाउन आवश्यक रहेको बताउनुभयो। उहाँले संगठन केवल पूर्व सैनिकहरूको हकहितका लागि मात्र नभई समाजसेवा, विपद् व्यवस्थापन तथा सामाजिक उत्तरदायित्वका क्षेत्रमा समेत सक्रिय भूमिका निर्वाह गर्दै आएको र यसलाई अझ संगठित र पहिचान सहितको उपस्थिती भएमा राम्रो हुने  बताउनु भयो ।

 

उहाँले भूतपूर्व सैनिकहरूको अनुभव, क्षमता र राष्ट्रप्रतिको समर्पणलाई समाज विकासमा उपयोग गर्न सकिए संगठनको गरिमा अझ उँचो हुने धारणा राख्दै नवनिर्वाचित नेतृत्वलाई सफल कार्यकालका लागि शुभकामना व्यक्त गर्नुभयो। साथै संगठनका सम्पूर्ण सदस्यहरूलाई व्यक्तिगत स्वार्थभन्दा माथि उठेर संस्थाको हित र विकासका लागि एकजुट भएर अगाडि बढ्न आग्रह गर्नुभयो।

 

कार्यक्रममा प्रमुख अतिथि राज सिग्देलले भूतपूर्व सैनिकहरूको संगठन समाजमा अनुशासन, राष्ट्रसेवा र एकताको उदाहरण बन्नुपर्ने धारणा व्यक्त गर्नुभयो। त्यसैगरी सदस्य कृष्णबहादुर श्रेष्ठले संगठनलाई समयअनुकूल रूपमा अघि बढाउन सबैको सक्रिय सहभागिता आवश्यक रहेको बताउनुभयो। पूर्व सभापति नवराज थिङले संघको विगतको योगदान स्मरण गर्दै नयाँ नेतृत्वलाई सफल कार्यकालका लागि शुभकामना व्यक्त गर्नुभयो।

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow