भोलि प्रतिनिधि सभा सदस्य निर्वाचन हुँदै, बिहान ७ देखि साँझ ५ बजेसम्म मतदान
सिन्धुली , फागुन २० —
देशभर भोलि फागुन २१ गते प्रतिनिधि सभा सदस्य निर्वाचन हुँदैछ। मतदान बिहान ७:०० बजेदेखि साँझ ५:०० बजेसम्म सञ्चालन हुने छ।
निर्वाचन आयोग ले मतदातालाई समयमै आफ्नो मतदान केन्द्रमा पुगेर शान्तिपूर्ण रूपमा मतदान गर्न आग्रह गरेको छ।
आयोगका अनुसार मतदाताले आयोगले जारी गरेको मतदाता परिचयपत्र अनिवार्य रूपमा साथमा ल्याउनुपर्नेछ। परिचयपत्र नभएको अवस्थामा नेपाली नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, सवारी चालक अनुमतिपत्र (लाइसेन्स), जग्गाधनी प्रमाणपत्र (लालपुर्जा) वा राहदानीमध्ये कुनै एक आधिकारिक कागजातका आधारमा पनि मतदान गर्न सकिने व्यवस्था गरिएको छ।
मतदान केन्द्रमा महिला र पुरुषका लागि छुट्टाछुट्टै लाइनको व्यवस्था हुनेछ। मतदाताले आफ्नो पालो कुर्नुका साथै शान्तिपूर्वक मतदान प्रक्रियामा सहभागी हुनुपर्नेछ।
यस निर्वाचनमा प्रत्यक्ष र समानुपातिक गरी दुई प्रकारका मतपत्र प्रयोग गरिनेछन्। प्रत्यक्षतर्फ मतदाताले आफ्नो निर्वाचन क्षेत्रका उम्मेदवारमध्ये एक जनालाई रोजेर सम्बन्धित चुनाव चिह्नमा स्वस्तिक छाप लगाउनुपर्नेछ। समानुपातिकतर्फ भने राजनीतिक दललाई मत दिइनेछ, जसअनुसार दलले प्राप्त गरेको मतका आधारमा प्रतिनिधित्व निर्धारण हुनेछ।
शारीरिक रूपमा अशक्त, ज्येष्ठ नागरिक, गर्भवती तथा सुत्केरी महिला र आफैं मतदान गर्न नसक्ने मतदाताका लागि विशेष व्यवस्था गरिएको आयोगले जनाएको छ। यस्ता मतदाताले मतदान अधिकृत, सहायक अधिकृत वा स्वयंसेवकको सहयोग लिन सक्नेछन्।
निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित बनाउन मतदान केन्द्रहरूमा सुरक्षा व्यवस्था कडा पारिएको छ। नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र आवश्यकतानुसार नेपाली सेनाको समेत परिचालन गरिएको छ। संवेदनशील क्षेत्रहरूमा विशेष निगरानी बढाइएको आयोगले जनाएको छ।
आयोगका अनुसार कुल मतदातामध्ये ९६ लाख ६३ हजार ३५८ पुरुष, ९२ लाख ४० हजार १३१ महिला र ‘अन्य’ श्रेणीमा २०० जना रहेका छन्। मतदाताले आफ्नो विवरण आयोगको आधिकारिक वेबसाइटमार्फत जाँच गर्न सक्ने व्यवस्था गरिएको छ।
आयोगले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र विश्वसनीय बनाउन आवश्यक तयारी तीव्र पारिएको जनाएको छ।
What's Your Reaction?